काठमाण्डौ । अभिनेता तथा निर्देशक निखिल उप्रेतीको निर्देशन तथा अभिनय रहेको चलचित्र ‘आचार्य’ को ट्रेलर सार्वजनिक भएको छ।
शनिबार काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा निखिललाई दक्षिण भारतीय चलचित्रको झल्को दिने एक्सन अवतारमा प्रस्तुत गरिएको छ। चलचित्रमा उनी ‘आचार्य’ र अन्यायविरुद्ध लड्ने योद्धा गरी दुई फरक भूमिकामा देखिएका छन्।
एक्सनसँगै प्रेम र रोमान्सलाई समेत समेटिएको चलचित्रमा नेपालीसँगै हिन्दी भाषाको प्रयोग गरिएको छ। चलचित्रको छायांकन नेपालका विभिन्न स्थानसँगै भारतमा गरिएको निर्माण पक्षले जनाएको छ।
चलचित्रमा प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, भारतीय कलाकार दीपराज राना र नवअभिनेत्री पूर्णिका सिजापतीको अभिनय छ। करिब एक दशकपछि निखिल यही चलचित्रमार्फत रजतपटमा फर्किन लागेका हुन्। ‘आचार्य’ असोज ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।



















